Saturday, May 2, 2015

दिनुमा केही छ, त्यो `केही´ ककस्ले अनुभूति गर्दै हुनुहुन्छ?

यो अप्रत्याशित र नियन्त्रण बाहिरको बिपद हो। हाम्रो जस्तो कहिल्यै दुरुस्त नरहेको देशको सरकारले (जुनसुकै पार्टिको संलग्नताको किन नहोस) यस्तो बिपदलाई आफ्नै ज्ञान, सीप र क्षमताले व्यवस्थित रूपमा सम्हाल्नेमा कुनै ठूलो आशा र अपेक्षा छदैं थिएन। कैयन ठूला र शक्तिशाली सरकारको पनि बिपदका बेला आलोचना हुनेगरेको छ। तर बाह्य निजि तथा गैर सरकारी र अन्तरास्ट्रिय  सहयोग र उद्दार कार्यलाइ समेत हतोत्साही बनाउने र अपरिपक्व निर्णय लिएर असहयोगी बन्ने क्रुर र अमानविय कदममा अघि बढ्छ होला भन्ने चाहिँ कदापी शंका थिएन। सेना, प्रहरी, कर्मचारीहरू यहि सरकारका अंग हुन तर उनिहरू `सरकारी´ नीति र निर्देशले भन्दा स्वविवेक र मानवताले उद्दारमा लागेको प्रष्टै देखिन्छ। नीति र निर्देशले काम गरेको भए किन मैले वा अर्को एक अमुकले मात्र नभै कसैले पनि त्यो सरकार नदेखेको? त्यसैले दोष र आरोपका लागि सहि बेला नभएपनी म यो सरकारको भर्त्सना गर्न चाहन्छु।

यो भर्त्सना हालको सरकार ढलोस र नयाँ आओस भन्नलाइ हैन। सहयोग र राहतमा लागेकालाइ हतोत्साही बनाउन हैन। सरकारको सदैब दोष मात्रै देख्ने रोगको चश्मा लगाएर गरेको पनि हैन। बिपदको एक पिडित परिवारको सदस्यका नाताले यो बिचार यसकारणले अहिल्यै राख्न चाहेको हुँ कि कुनै पनि सरकार कति निकम्मा, दिशाहिन, अमानविय, अव्यवस्थित र लाचार हुनसक्क्दोरहेछ भन्ने उदाहरणका लागि एउटा आफ्नै `डायरीको रिमाइन्डर बुकमार्क´ बनाएको हुँ।

अनि आजको मितिसम्म एउटा सर्वदलिय साझा बिचार वा मार्गचित्र ल्याउन नसक्ने क्षमताहिन ती दाहाल, कोइराला, ओलि, भट्टराई, देउवा, नेपाल, खनाल, यादव, झा, महतो, गच्छदार आदि कथित नेतृत्वको पनि भर्त्सना गर्न चाहन्छु। यिनिहरूमाथी बिश्वास त झिनो नै थियो अब आशा पनि अस्ताएको छ।

तर कैयन निराशा, पीडा, क्षतिका बाबजुद नेपाली समाज जिवन्त, सहयोगी, परोपकारी र संघर्षशिल छ भन्ने यस आपतको घडिमा सक्नेले एकापसमा गरेको सहयोगले फेरि पुष्टि गरेको छ। निजि र साना-साना समुदाय र संस्थाले गरेको सहयोग उल्लेखनिय देखिन्छ। एउटा मान्छे एक बोरा चामल वा चाउचाउ बोकेर एक दिन एउटा मात्रै गाउं पुगेको अनुपातको सहयोगले नि जालझेल र अलमलको राजनितीको मुहान बनेको सरकार कस्तो हुन्छ भन्ने सम्झाउनी/बिर्साउनी गराइदिएको छ। आफन्तै गुमाएर, घरै ढलेर सखाप हुदाँसमेत प्रकृतिलाइ स्विकारेर बाचेकालाइ राहत दिनमा लाग्नेको साहसले त नतमस्तकै बनाएको छ।

अन्तमा सरकारको आलोचनामा कोहि अड्किएका छैनन r यसमै अल्झेर नबसुन पनि। सरकार आउँदै गर्ला जाँदै गर्ला तर जीवन वा जिउनु जो केवल घर र सम्पत्ती हैन भन्ने सत्यलाइ यो पीडाको घडिले एकीकृत बनाएको नेपाली समाजलाइ सिकाइरहेको छ। `दिनु´मा केही छ र दिन सकिने धेरै छन। त्यो `केही´ ककस्ले अनुभूति गर्दै हुनुहुन्छ?

No comments: