Saturday, May 2, 2015

दिनुमा केही छ, त्यो `केही´ ककस्ले अनुभूति गर्दै हुनुहुन्छ?

यो अप्रत्याशित र नियन्त्रण बाहिरको बिपद हो। हाम्रो जस्तो कहिल्यै दुरुस्त नरहेको देशको सरकारले (जुनसुकै पार्टिको संलग्नताको किन नहोस) यस्तो बिपदलाई आफ्नै ज्ञान, सीप र क्षमताले व्यवस्थित रूपमा सम्हाल्नेमा कुनै ठूलो आशा र अपेक्षा छदैं थिएन। कैयन ठूला र शक्तिशाली सरकारको पनि बिपदका बेला आलोचना हुनेगरेको छ। तर बाह्य निजि तथा गैर सरकारी र अन्तरास्ट्रिय  सहयोग र उद्दार कार्यलाइ समेत हतोत्साही बनाउने र अपरिपक्व निर्णय लिएर असहयोगी बन्ने क्रुर र अमानविय कदममा अघि बढ्छ होला भन्ने चाहिँ कदापी शंका थिएन। सेना, प्रहरी, कर्मचारीहरू यहि सरकारका अंग हुन तर उनिहरू `सरकारी´ नीति र निर्देशले भन्दा स्वविवेक र मानवताले उद्दारमा लागेको प्रष्टै देखिन्छ। नीति र निर्देशले काम गरेको भए किन मैले वा अर्को एक अमुकले मात्र नभै कसैले पनि त्यो सरकार नदेखेको? त्यसैले दोष र आरोपका लागि सहि बेला नभएपनी म यो सरकारको भर्त्सना गर्न चाहन्छु।

यो भर्त्सना हालको सरकार ढलोस र नयाँ आओस भन्नलाइ हैन। सहयोग र राहतमा लागेकालाइ हतोत्साही बनाउन हैन। सरकारको सदैब दोष मात्रै देख्ने रोगको चश्मा लगाएर गरेको पनि हैन। बिपदको एक पिडित परिवारको सदस्यका नाताले यो बिचार यसकारणले अहिल्यै राख्न चाहेको हुँ कि कुनै पनि सरकार कति निकम्मा, दिशाहिन, अमानविय, अव्यवस्थित र लाचार हुनसक्क्दोरहेछ भन्ने उदाहरणका लागि एउटा आफ्नै `डायरीको रिमाइन्डर बुकमार्क´ बनाएको हुँ।

अनि आजको मितिसम्म एउटा सर्वदलिय साझा बिचार वा मार्गचित्र ल्याउन नसक्ने क्षमताहिन ती दाहाल, कोइराला, ओलि, भट्टराई, देउवा, नेपाल, खनाल, यादव, झा, महतो, गच्छदार आदि कथित नेतृत्वको पनि भर्त्सना गर्न चाहन्छु। यिनिहरूमाथी बिश्वास त झिनो नै थियो अब आशा पनि अस्ताएको छ।

तर कैयन निराशा, पीडा, क्षतिका बाबजुद नेपाली समाज जिवन्त, सहयोगी, परोपकारी र संघर्षशिल छ भन्ने यस आपतको घडिमा सक्नेले एकापसमा गरेको सहयोगले फेरि पुष्टि गरेको छ। निजि र साना-साना समुदाय र संस्थाले गरेको सहयोग उल्लेखनिय देखिन्छ। एउटा मान्छे एक बोरा चामल वा चाउचाउ बोकेर एक दिन एउटा मात्रै गाउं पुगेको अनुपातको सहयोगले नि जालझेल र अलमलको राजनितीको मुहान बनेको सरकार कस्तो हुन्छ भन्ने सम्झाउनी/बिर्साउनी गराइदिएको छ। आफन्तै गुमाएर, घरै ढलेर सखाप हुदाँसमेत प्रकृतिलाइ स्विकारेर बाचेकालाइ राहत दिनमा लाग्नेको साहसले त नतमस्तकै बनाएको छ।

अन्तमा सरकारको आलोचनामा कोहि अड्किएका छैनन r यसमै अल्झेर नबसुन पनि। सरकार आउँदै गर्ला जाँदै गर्ला तर जीवन वा जिउनु जो केवल घर र सम्पत्ती हैन भन्ने सत्यलाइ यो पीडाको घडिले एकीकृत बनाएको नेपाली समाजलाइ सिकाइरहेको छ। `दिनु´मा केही छ र दिन सकिने धेरै छन। त्यो `केही´ ककस्ले अनुभूति गर्दै हुनुहुन्छ?

Tuesday, April 28, 2015

बिपदमा सहयोग गरिएका सामान आपत नबनोस

बिपदका बेला गरिने सहयोगका कैयन सरसामान लत्ताकपडा, बोतलका पेय, क्यानमा राखिएका खाद्य आदिलाइ आपतकालिन स्वयमसेवक र उद्दारकर्मीहरू `बिपदपछिको आपत´ पनि भन्ने गर्दा रहेछ्न।

कैयन देशमा भएका प्राकृतिक बिपत्ती वा दुर्घट्ना पछि गरिएका सहयोग र त्यही सहयोगकै सरसामानले निम्ताएका आपतमा आधारित तथ्यहरुमा केन्दृत केही महत्वपुर्ण कुरा मलाइ सबैसामु राख्न मन लाग्यो। इन्टरनेटका विभिन्न ब्लग र लेखहरूमा सजिलै पाइएका कुराहरूलाइ मैले बुदाँगत बनाउने कोसिस मात्र गरेको छु। तल चर्चा गरिने सरसामान र सहयोगका किसिमहरू जहाँपनी बिपदका बेला आबश्यक हुदाँहुदैँ तिनै कुरा किन आफैमा समस्या पनि हुन सक्छन भनी उद्दारमा लागेका बिज्ञ र उद्दारकर्मीहरुको अनुभव हुन।

१) लत्ताकपडा- प्रशस्तै लुगाकपडा यस्तो बिपतका बेला कहाँ स्टोर गर्ने भन्ने समस्या हुन सक्छ। साइज र किसिमका आधारमा छुट्टाउन थप भोलिन्टियर आबश्यक पर्न सक्छ। पानी परे वा सहि तरिकाले स्टोर गर्न नसके कुहिने र फोहोर हुने हुदाँ ब्यबस्थापन झन जटिल बन्न सक्छ।

२) जुत्ता - लुगा जस्तै साइज र किसिम छुट्टाउनु यस्को पनि अर्को समस्या हो। भिडमा दायाँ र बायाँ जुत्ता मिसिएर कामै नलाग्ने हुन सक्छ।

३) कम्बल - हैटी र जापानमा पछिल्ला समय भएका एक अध्ययनले भन्छ जतासुकै बाट एकै किसिमका सहयोग आउँदा कम्तिमा पनि ५० प्रतिशत सरसामान अनाबश्यक हुने गरेको वा उपयोगी बितरण नभएको पाइयो। यस्को पनि स्टोर गर्ने समस्या उस्तै हुनसक्छ।

४) औषधि - १९८८ मा आर्मेनियाको भुकम्पमा पठाइएको ५५ मिलियनको औषधि को बर्गिकरण गर्न मत्रै ५० कर्मचारिलाइ ६ महिना लागेको बताइन्छ। यस्ता बेलामा बढी उपयोगी हुने भनी चर्चित औषधि भारी मात्रामा सहयोग हुने गर्दछ्न। तर औषधि भने प्राय चिकित्सकको सल्लाह बमोजिम नै उपभोग गरिने हुदाँ सबै काम लाग्दैनन।

५) मिसाइएका सामानहरु - एउटै बाक्सामा वा धोक्रोमा थरी थरिका सामान मिसाएर दुर्घट्नास्थल पुर्‍याउनु जटिल काम बन्न सक्छ। के कहाँ र कति उपयोगी छ भन्ने सहि आंकलन नहुनाले बितरण प्रभावित बन्न सक्ने र जनशक्ती तथा श्रोत गलत ठाउँमा खर्च हुने समस्या बनिदिन्छ।

६) प्लास्टिक प्याक, क्यान र बोतलका खाने तथा पिउने पदार्थ - यस्ता खाद्यपदार्थ मिति गुज्रेका हुन सक्ने, प्रयोग गरेपछी तिनै क्यान र बोतलको डिस्पोज सहि तरिकाले नगर्दा वातावरण दुषित र दुर्घन्तित हुन सक्ने र त्यस्ले रोग निम्ताउन सक्ने समस्या आउन सक्छन।

७) अनुभव बिनाका स्वयमसेवक - आपतका बेला सहयोग गरौं भन्ने सबैलाइ लागेको हुन्छ र सकेको गर्ने पनि चलन छ। तर घाइतेको हेरचाह, च्यापिएका/पुरिएकाको उद्दार, कठिन भौतिक परिस्थिती बाट मान्छेलाइ जोगाउने कुरा सीप र क्षमतासंग पनि जोडिएको कुरा हो। ज्ञान र सीप बिना स्वयमसेवकको संख्या अनाबश्यक भएमा उनिहरुनै बाधक बन्न सक्छन।

८) गलत ब्यक्ती वा संस्थालाइ आर्थिक सहयोग - आपतले बिह्वल भएका बेला थोरै भएपनी रकम सहयोग गर्ने मानिसको बानी हुन्छ। तर सबैको मन मनकारी हुन्छ भन्ने हुन्न। सहयोगको नाममा कैयन व्यक्ती वा संस्थाले यस्तै मौकामा लाखौं रकम उठाउने र दुरुपयोग तथा व्यक्तिगत प्रयोग गर्ने गरेको देखेकै छौं।

अन्तमा, रकमको सहयोग सबैभन्दा उत्तम सहयोग देखिन्छ। त्यस्तो रकम प्राप्त गर्ने सरकारी, गैरसरकारी, सामुदायिक तथा अन्तरास्ट्रिय संस्था र संयन्त्रबाट एकीकृत रूपमा उद्दार र राहत हुन सक्नु जत्तिको राम्रो परिणाम अन्तबाट आउनै सक्दैन। त्यसरी आएका सहयोगलाइ स्थानिय तहका बिश्वाशिला समूह, संस्था वा क्लबहरुलाइ सहभागी गराइ बितरण गर्नेतर्फ पहल गर्नु राम्रो होला। सहयोगीहरुले पनि आफ्नो सहयोग सहि ब्यक्ती वा संस्थालाइ दिइएको छ वा छैन, सदुपयोग भएको छ या छैन भनी फलोअप गर्नु उत्तिकै जरूरी देखिन्छ।

Sunday, March 29, 2015

पहिचानको आन्दोलन र पृथ्बिनारायणको दानविकरण



नेपाल एउटा बहुआयामिक परिवर्तन को प्रकरणमा छ । हरेकले मौलिक पहिचान खोजिरहेका छन । कहिँपनी त्यस्तो पहिचान खोज्ने सुरुवात इतिहासको सहि खोज र बिश्लेशणबाटै हुने हो । पृथ्बिनारायणबारेको बहस कुनै उत्पात हैन बरू कुनै न कुनै दिन त्यो हुने नै थियो ।

तर कुनैपनि खोज र विश्लेषण का लागि बिश्वसनिय आधार र प्रक्रिया पूर्बशर्त हुन । भविष्य मा अरू थप तथ्यहरू आउदैँ गर्लान र हामी तिनमा आधारित नयाँ परिचय पाउदैँ गरौंला नै । सन्सारमै मानिसले आफुलाइ यसरीनै चिन्दै आएको छ ।

यहानिर जहासम्म उनले लडेका युद्ध र त्यस्ले गरेका क्षतिको प्रसङ्ग छ यस्लाइ सम्बोधन कस्ले र कसरी गर्ने भन्ने फरक मत होलान जसरी अस्ट्रेलियन आदिबासी सङ्ग दशकौँपछी राज्यले माफी मागेको उदाहरण छ विश्वसामु । उनले राज्यहरु जितेर नै गल्ती गरेको जसरी प्रस्तुत गर्ने अहिलेको शैली भने बडो हास्यास्पद पाउँछु । त्यो त्यस्तो बेला थियो जुनबेला हालको जस्तो मानवाधिकारको कुरो काल्पनिक लाग्न सक्थ्यो र राज्य बिस्तार गर्ने सिमित उपायमध्य युद्ध र चलाखी कै निर्बैकल्पिक प्रयोग गरिन्थ्यो । युद्ध र हस्तक्षेपले कोहि न कोहि हानिमा परेकै हुन्छन । इतिहासका त्यस्ता हानिहरूको सम्बोधन आजको पहिचानको आन्दोलनका क्रममा कसरी गर्ने? त्यो कुनै जातिय सङ्घठनको मुद्दा मात्रै मानिनु हुन्न । यसको सम्बोधनपछी बल्ल राज्य र रास्ट्र प्रती अपनत्व सम्भव हुने हो त्यस्मा दुइमत हुनै सक्दैन । यहि प्रकृयाको एउटा स्वरुप नै सम्बिधानसभा को चुनाब र बाटो चाहिँ सम्बिधान निर्माण हो । त्यसैले कृपया सभ्य बहसमा छल्फल गरौँ न कि क्षति र पिडाको प्रतिशोध को आग्रह लिएर ।

हामिले गएको दशक मा यस्तै आवेश र आवेग मा कैय्यनलाइ महानायक वा देवत्वकरण तथा कैय्यनको दानविकरण गरिसकेका छौँ । जुन हरेक आउदो भविष्य मा प्रश्नातित मात्रै बन्दै गैरहेका पाइन्छन ।

मानिसलाइ यो भुगोलमा गर्व मन लाग्नु र नलाग्नु का कारनहरू होलान, छन । (जस्तै मन नलाग्नुमा यो भौगोलिक सिमा निर्माण क्रममा कुनै जाती र समुदायले भोगेको वा गुमाएको पहिचान एउटा उदाहरण होला)

जेसुकै भएपनी आजसम्मको तथ्यले भन्छ, पृथ्बिनारायण आजको नेपालको भुगोल को महत्वपुर्ण र अकाट्य ईतिहास हुन । साँघुरो अभिप्रायले यस्लाइ तोडमरोड नगरौँ ।

Sunday, March 22, 2015

निरन्तर अकर्मण्यता; `यहाँ दुख्ख छ त्यतै हाइसञ्चो´

स्पष्टिकरणः यो लेखमा, जीवन, देश, देशप्रेम, बिदेश, दु:ख आदि कुरा `भन्न खोजिएका´ त हुनेछन तर सिकाउन, बुझाउन, ‘टिप्स’ दिन खोजिएका हैनन्, छैनन्।


बुद्ध कतै भन्छन, “दुःख टार्न सकिदैंन, आउँछै आउँछ तर कष्ट सदैब छनौटको विषय हो।”

पछिल्ला समय अमेरिकी महादेश वा युरोप बाट नेपालीका पीडा र आत्महत्या जस्ता दुखका खबर सघन भएका छ्न। आजको मितिसम्म सैयौं विदेशिएका नेपालीले देखेको र भोगेपछि लेखेको विभिन्न कथा, व्यथा र भावना अनि सामाजिक सञ्जालमा पटाक्षेप विज्ञप्तीले कमसेकम `विदेशमा जीवन कस्तो छ?´ भन्नेबारे खासै अन्यौल बाँकी नहोला । पहिले सूचनामा कम पहुँचका कारण वैदेशिक जीवनबारे सपना र कल्पनाको कुरा वढी हुन्थे भने आज विपना र यथार्थ घट्ना तुरुन्तै सार्वजनिक हुन्छन । फरक यस्सै देखिहालिन्छ ।


यद्यपि हरेक घटना आफैमा स्थान र समयका आधारमा सत्य भए पनि भोगाइका आधारमा फरक हुन सक्छन भन्ने मान्छु । भोगाइ ? अर्थात त्यसपछि बन्न थाल्ने जीवन दृष्टिकोण । किनभने भोगको वस्तुगत पाटोसंगै मानिसलाई हुने अनुभुति र परिष्कृत भइरहने विचारको विकास प्रक्रियाले कुनै पनि घटनालाई कसरी ग्रहण गर्ने भन्ने बाटो देखाउँछ । त्यसैले घटनाको सामाजिक वस्तुस्थिति एकैनासका हुँदाहुँदै पनि जीवन दृष्टिकोण एकैनासका हुनेबारे निक्र्यौल गर्न सकिन्न । यहीँबाट मेरा केहि भन्नु छन् र यो लेखिटोपल्न बसेको हुँ ।


१) वैदेशिक जीवनको (अ)सामान्यीकरण
मुलत अमेरिका वा युरोपमा नेपालीको जीवनबारे आजकल प्रशस्तै सार्वजनिक भएका घटना र विचारलाई हेर्दा म व्यक्तिगत रुपमा तिनलाई अत्यन्तै सामान्यीकरण गरिएका उदाहरण पाउँछु । कुनै पनि देश वा समाजको जीवनलाई यसरी सामान्यीकरण गरिनु तथ्यपूर्ण हुनैसक्दैन । फेरि भन्छु मलाई लाग्दछ सामाजिक जीवनका घटना एकै होलान तर भोगाइ र धारणा एकै हुँदैनन्, नहोलान् । जस्तोकि नेपालको जनजीवनलाई अत्यन्त कष्टकर, सरकारलाई लाचार र राजनीतिलाई लाजमर्दो मात्रै मान्ने दृष्टिकोण सम्पूर्ण नेपालको चरित्र चित्र हुनै सक्दैन त्यसरी नै विदेशको संघर्षलाई नर्क र कहाली लाग्दो मात्रै भन्ने धारणा पूर्ण छैन । खासगरी १) अमेरिका, युरोपमा नेपालीको जीवन खत्तमै छ भन्ने र बर्षौदेखि त्यही देशमा टाँस्सिएरै बस्ने अनि २) ती देशमा छिर्न पाको छैन तुरुन्तै स्थिरता र सम्पन्नता खोज्ने र नपाएपछि निक्लने त्यस्ता टिप्पणी भावनामा बहकिएर पोखिएका आंशिक र एकपक्षीय कुरा बढी छन् ।


२) किस्सिमको (अ)राष्ट्रवाद
विदेश छिरेको दिनैदेखि स्वदेशका खोलानाला, गाउँपखेरो, साथीसंगीलाई चाहिनेभन्दा चौगुना बढी मीस गर्ने अनि देशको औधी माया लागेर आउने कलाबिहीन नाटकीहरुको राष्ट्रवाद (?) पनि अचम्म लाग्दो छ । उनिहरुलाई जेटबाट ओर्लेर पराइभूमिमा टेकेदेखि देश दुख्न थाल्छ । भन्न थाल्छन कुन्नी कस्ता-कस्ता परिस्थितिले, कुन-कुन राजनीतिक पार्टीले खेदेर देश छाड्नुपरेको हो नत्र देशभक्त सन्तान बनेर स्वदेशको सेवा गरिबसेका हुने थिए । मानौ उनीहरु देशमै कम्तीमा दिनको ८ घण्टा काम गर्थे, नियमित कर तिर्थे, कानुनको पालना गर्थे आदि इत्यादी । यस्ता खाले मनुवाको तुरुन्तै आँशु आउँछ । घरका आमाबाउको, परिवारको यादले खर्लप्पै खान्छ । अनलाइनमा देशका कुनै दुर्घटना वा अपराध वा सामान्य अस्थिरताका समाचार आयोकि त्यस्तो अस्थिरताका कारण खुलाएर सामाजिक सञ्जालका स्टेटस लेखिठोक्छन र देश विकासको ‘आइडिया’ ठाउँका ठाउँ फुरिहाल्छ । मानौं उनीहरु नेपालमा भएका भए त्यस्तो दुर्घटना हुने गरी गाडी हाँक्दैन थिए, नेतालाई भनसुन गरेर जागिर खादैंन थिए, लाइन मिचेर अनियमितता गदैन थिए, बलात्कार गर्दैन थिए, चोर्दैन थिए, डाक्टर भएर औषधी सिफारिस गरेको कमिसन लिन्न थे । इन्जिनियर भएर नापी–नापी घुस खादैंन्थे । आमाबाउलाई वृद्धाश्रममा पठाउँदैन थिए, श्रीमतीलाई भान्छामा सघाउने थिए, छोरीलाई सरकारी र छोरालाई बोर्डिङमा भर्ना गर्दैन थिए आदि इत्यादी । अर्थात देशमा नराम्रा गर्नेहरुमा उनीहरु कहिल्यै थिएनन्, भविष्यमा हुने पनि थिएनन् बरु परिस्थितीले नै लखेटेको हो र निक्र्यौल निस्कन्छ राम्रा गर्ने त देशमै छैनन् । “म नै देशमा नभएसी राम्रा मान्छे कहाँ देशमा हुनु?”


३) `विकासकी बत्ति जलादे´
अर्को रोचक कुरा, लाग्छ अमेरिका, क्यानाडा, युरोपमा खुट्टा टेक्नु भनेको विकास र प्रगतिको सिद्धान्तका शिक्षा प्रदान गर्ने लाइसेन्स मिल्नु हो । भनौं यहाँका चौडा सडक र अग्ला घर देख्नेवित्तिकै कसैको पनि दिमागमा नेपाल किन विकास हुन नसकेको भन्ने दिव्यज्ञानसहितको बत्ती बलिहाल्दछ । अनि यताका ओभरहेड हाइवेलाई उताका तुइन, यताका विद्युतिय रेललाई उताका नेपाल यातायात, यताका बन्दोवस्तीको `मेकानिज्म´लाई उताको घुसखोर नोकरशाहीसंग तुलना गर्न थालेपछि उनीहरु सुशासन र संयन्त्रको अनुसन्धाता पनि बनिहाल्छन ।

४) यहाँ दुख्ख छ त्यतै हाइसञ्चो
“मेरो नेपाल सुख्खको देश, म देशप्रेमी मान्छे हुँ, मलाई मेरो देश नै ठीक लाग्छ” भन्ने आशय राखेर यताबाट कैयनले आजकल विज्ञप्ती निकाल्छन । भनिरहेका हुन्छन – "यता बडो दुख्ख छ त्यतै हाइसञ्चो, म त आइहालें, भो तिमी चैं नआउ ।" दरिद्र मानसिकता शब्दमा हुदैन त्यसमा साँचिएका गुढ अर्थमा हुन्छन् । यो मनोवैज्ञानिक अध्ययन हुने पेचिलो विषय पनि हो । यसरी विदेशबारे वितृष्णा र तितो त्यस्ता शब्दमा पोखिरहँदा त्यसमा निहीत ‘लुकेको संकेत’ले अर्थ लगाइरहेको हुन्छकि “काममा घोटिन किन विदेश आउने?” हो, मलाई निजी रुपमा त्यस्ता पीडा पोख्ने नाममा उनीहरुले यसो पो भनिरहेका हुन हैनन् र? भन्ने अलि बढी नै लाग्न थालेको छ – “नेपालमा पौने एघार बजे अफिस पुग, डेढ घण्टा खाजासमय लम्ब्याउ, आधा घण्टा अगाडि कार्यालय छोड । यता पन्ध्र मिनेट भनेको खाजा छुट्टी पन्ध्रै मिनेटमा सक्काउनुपर्छ । १० बजे भनेको अफिस केही अघि नै पुग्नुपर्छ । जति बजे छुट्टी हो त्यतिबेलै ‘टाइम आउट’ लेखाउनुपर्छ । हो भनेको के, यता नआउ, नेपालै ठीक छ ।” अनि नेपालमा सिन्को नभाँच्नुको गर्व उनीहरु यता आएर पनि गर्न भुल्दैनन् तर फेरि नेपालका नेता र अधिकारीहरुलाई विकास हुन नसक्नुको दोषको भारी पूरै बोकाउँछन् ।


५) विदेशः छनौट या नियती?
विदेश मेरो छनौट धेरै र बाध्यता कम हो भनि किन नभन्ने? यो प्रश्नले नेपाल छाड्नु अघिदेखि रिङ्याएको हो । किनकी निजीरुपमा मैले विभिन्न विकल्पमध्ये विदेश रोजेको हुँ (सामान्यीकरणका विपक्षमा मत राख्दाराख्दै पनि यो मैले गरेको सामान्यीकरण हुनसक्छ)। मैले त्यसो भनिरहँदा मूलत युरोप अमेरिका छान्ने म जस्ताको ‘प्रतिनिधि तथ्य’ हुन्छकि हुदैन? सोचीबस्छु ।

मेरो विचारमा छनौटले कर्म र आत्मविश्वासमा धरातल खोज्छ र नियतीले चाहिँ अनियन्त्रित परिस्थिति र घट्नाक्रमलाई आरोपित गर्दछ । के नेपाल बाहिरिने सब्बैलाई नियतीको खोलोमा बगाउन मिल्छ? के विदेश आजको मितिमा त्यस्ता अनियन्त्रित घट्नाक्रम र परिस्थितिले सिर्जना गरेका बाध्यताको नतिजा मात्रै हो? नेपालमा मानिसले आफ्नो उन्नतिका लागि प्रयास गर्न उसको नियन्त्रणमा कुनै व्यवसाय, कुनै जीविका, कुनै पेशा वा कुनै विकल्प छदैं छैनन् त? के विदेश भनेको एउटै उद्देश्य र एउटै गन्तव्यका रुपमा व्याख्या गर्न मिल्ने विषय र सन्दर्भमा सीमित छ?

जस्तोकि अमेरिकी महादेश वा युरोप भूमी छिर्ने अनि मलेशिया र अरब होमिनेको गन्तव्य छनौटका आधार वा नियतीको परिबन्ध एकैखाले हुनसक्छ? वा भनौ अमेरिकामै डीभी पर्ने, मेक्सिकोबाट छिर्ने, शरणार्थी घोषणा गर्ने तथा अध्ययन र क्षमताका आधारमा कर्मभूमी बनाउने नेपालीको व्याख्या एकै धारणाले सम्भव छ? पक्कै छैन, नहुनुपर्ने हो । यहीँनिर मेरो कुरा हो विदेश छनौट कि नियती?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक बाहिरिने दुई वा तीन हजारको संख्यामाथि गरिने भावनात्मक दुःखी राजनिती र एनजीओ कार्यक्रम अब व्यर्थको भैसक्नुपर्ने बेला आएको हैन र?

हो निर्वैकल्पिक रुपमा विदेशिने पक्कै होलान् । मूलत शारीरिक श्रम नै गर्छु भनी उतैबाट छुट्याइएकै कामको कोटामा अरब वा मलेशिया बाहिरिनेहरु ती समूुहमा पर्लान तर बाँकी नि? जस्तै अमेरिकी महादेश वा युरोप छिरेको एक हप्तामै दुःखको पहाड उचालेर रुनेहरु पहिले छनौट गर्ने आफ्नै क्षमता भएको विश्वास राख्छन र पछि नियतीमा भारी बिसाउने पलायनवादी अवधारणाले थिचिएका आजकल उदाहरणीय रुपमा हामीले देखिरहेका छैनौं र? उ छनौटको कमजोरीमा दुःखी हुने कि नियतीमा रुने? अर्को सत्य के हो भने छानेपछि कुराहरू बाहिर पर्छ, कैयन कुरा नछानिएकोमा पर्छ । तुलसी दिवसको कविताजस्तो, “पर्खाल लगाएपछि धेरै कुरा बाहिर पर्छ ।”


यहाँनिर के जोडौं भने मूलत हामीजस्ता युरोप अमेरिका छानेर विदेशिनेले छनौटको अवसरलाई प्रयोग गरेका हौं, यी परदेशमा हुने ती दुःख सुखको कुरा पहिल्यै थाहा थिएन कसरी भन्ने? विदेशमा नेपालीले के काम गर्छन भन्ने जानकारी थिएन भनेर कसरी भन्ने? अर्थात मैले छानेकै हो भनेर किन नभन्ने?


६) काम वा कर्म?
देशमै बस्नुपर्ने देशप्रेम, कुनै निश्चित पेशाले त देशबाहेक सोच्नै नहुने सिमान्त परिभाषा, युवा विदेशिनु जत्तिको उत्पात शायद संसारमै अर्को नभएकोजस्तो राजनैतिक तर्क, विदेशमा आउनेले गर्ने वेटर, कुक, सेल्स पर्सन, गार्ड, ड्राइभर पेशा भनेको संसारको जिवन्त ‘नर्क’ हो भन्ने व्याख्या आजको मिडियामा यसरी व्याप्त भएको छ कि मानिसले अर्को धारणा नै बनाउन नसक्ने स्थिति छ । ती पेशाप्रतिको नकारात्मक व्याख्या भनेको कामप्रति अझै पनि सम्मानको भावना सृजना हुन नसक्नु त छदैछ यसले स्वदेशमै रहेका त्यस्ता काम गर्नेलाई दुःखी, जीवनका रसस्वाददेखि दूर, आफ्नो जीवनबारे छनौट गर्न नसक्ने कमजोर देख्ने अमानवीय धारणालाई मलजल पनि गरिरहेको छ ।


के यो कुरा नि आजको मानिसलाई भनिरहनुपर्छ कि मानिस ठूलो कामले हैन कर्मले हुने हो । काम कुनै निश्चित पेशा हुनसक्ला तर कर्म भनेको मानिसको विचार र आचरणसहितको सम्पूर्ण जीवनशैली हो । न्युयोर्क, टोरन्टो, मस्को वा लण्डनमा बसेर देश विकासको कुरा सिकाउने अनि समाजका जरुरी र अत्यन्तै जुझारु कामबारे तल्लोस्तरको धारणा राखेर उभाेँ कसरी लागिन्छ? यी शहरमा बसेर बाध्य भएर देश छाडेको हुँ भन्ने खाले कुतर्क राख्दै आफ्नै छनौटको कष्टपूर्ण नतिजामा आफूभन्दा नियतीलाई, देशको अमूर्त स्थितिलाई दोष दिएर किन भ्रम छर्ने? काम जे सुकै (जेसुकैको अनर्थ नलागोस) गरौं कर्म सही रोजौं न ।

अन्तमा,
देशमा बस्नुस वा छाड्नुस, आफ्नो दुःख कष्टको भाग देश वा परिस्थिति जस्ता अमूर्त कुरालाई किन लगाउने? बाख्रालाइ बाख्राकै र भैंसीलाइ भैंसीकै सिङ भारी भनेझैं नेपालमा नेपालको दुःख छ, विदेशमा विदेशको दुःख छ किनकि दुःख अकाट्य छ, टार्न सकिन्न । आफूलाई कष्ट दिने वा नदिने भने छान्न सकिन्छ । यो बडो दार्शनिक र अव्यावहारिक कुरो हो जस्तो ठान्दिन । मैले विदेशमा बस्ने कष्ट रोजेको छु वा भनौं यहाँको खाले कष्ट आफैले छानेको हुँ । सिधा कुरा, यता छिर्दाको लाखौंको ऋण मैले नै करोडौंको सपना देखेर सिर्जेको हो अरुले भिडाएको हैन। रकमी सपना केही हदमा आवश्यकता होला तर बढी त छनौट नै हो। निजि बिचारमा, सुख भनेको थकाइले चूर भएको बेला राती बस्ने बास हो, दु:ख चैं दिउंसभरीको यात्रा जो भोलि फेरि गर्नु नै छ, जुन धरातलमा गएनी गर्नुछ। त्यसैले अमेरिकी सपनाको ऐना चर्किएकोमा हुने रोनाधोनालाई नेपालकै नियतीसंग जोड्न आबश्यक छ भन्ने ठान्दिन। `त्यो´ दु:खको छ्नौट ब्यक्तिगत हो।

Sunday, February 1, 2015

समुहका बिरुद्द ब्यक्ती

सत्य सधैं अल्पसंख्यकमा निहित रहन्छ किनकी अल्पसंख्यकहरूमा ती थोरै पर्दछन जसले बिचार निर्माण गर्दछन। जबकी बहुसंख्यक सधैं भ्रामक र कुनै विशेष बिचार बिनाको हुदाँहुदैपनी उनिहरूसंग ठूलो समूहको शक्ति हुने गर्दछ।

रोचक के छ भने, ती बहुसंख्यकले केही समयपछी अल्पसंख्यक त बिचारले बलिया रहेछन भन्ने थाहा पाउँछन् र त्यस्तो बिचारलाइ आफ्नो बनाउँछन। उनिहरुले अब यहि हो हाम्रो बिचार भन्दै सब्बै हामीजस्तै भैसके भन्ने दाबी गर्छन। दुर्भाग्य चैं के हुन्छ कि, त्यो गुढ सत्य फेरि पनि नयाँ बनेको अल्पसंख्यकमा सरिसकेको हुन्छ।

डेनिस बिचारक "किर्केगार्ड"

Saturday, January 31, 2015

लोकगीत शुरुमा कसैले एक्लै गाउँछ

शुरुमा त्यो जंगली हुन्छ,
लेकाली हुन्छ
मधेशी हुन्छ
पाखे हुन्छ
लोकगीत सबैले गाउनुअघि
कसैले एक्लै गाएको हुन्छ ।

शुरुमा त्यसको कुनै धुन हुन्न
लय हुन्न
घना जंगलमा
एउटा रुखको बिरुवा उम्रेजस्तो
ठूलो चौतारीमा सानो झोक्काले पात फडफडाएको जस्तो
आकाशमा बाज देखेर
जाबो फिस्टेचरो चिरबिराएको जस्तो हुन्छ
त्यस्तो कुनै अदभुत सुनिन्न ।

शुरुमा तराइको बाक्लो कुहिरो भित्र
एउटी कम्लरीले टाढा खेततिरबाट गुनगुनाएजस्तो
तल कामीगाउँबाट
एकनासले आरनमा घन ठोकेजस्तो
गोठालेले लेकतिर गोठमा पहाडको बिचमै हराइजानेगरि
एक्लै बाँसुरी फुकेजस्तो सुनिन्छ
कुनै रेडियो वा टीभीहरुका श्रृंखलामा बजेको हुन्न ।

हुन त बजारले कैयन लोकगीतका भाकाहरुलाई
दोहोरी बनाएर बेच्छ
रिमक्स गराएर किन्छ
जस्तो कि आरसीसी भवनभित्रबाट बडेमाको झ्याल खोल्दा
सडकमा मकै पोल्दै बेच्दै गरेकी आइमाइलाई देखेर
धेरैले लेख्छन गीत
वातानुकुलित सवारीभित्र बसी कालो शिशाबाहिर फुटपाथमा
मैलोधैलो भरियाको खुइअ सुनेर
कैयनले भर्छन धुन
एउटी आरोपीत बलात्कृत बोक्सीनीको तस्विर हेरेर छापामा
प्रशस्तै बज्छन नारा
तर लोकगीत कुनै महाकविले लेख्ने होइन
कुनै पुरस्कृत संगितज्ञले धुन भर्ने हैन
कुनै दरबारबाट प्रायोजित मुर्धन्यले गाउँगाउँ पुगेर संकलन गर्ने हैन ।
यसलाई नोकरले गाउँछन मालिकले सुन्दैनन्
यसलाई कामदारले गुनगुनाउँछन ठेक्दारले बुझ्दैनन्
यसलाई ऋणीले लेख्छन साहुले पढ्दैनन्
यो त अलिक जंगली पाराको हुन्छ
आदिबासीको जाँड ह्वास्स हुन्छ थोरै
गाइभैसीलाई खुवाउने घाँस–घाँस गनाउँछ
अछुत–अछुत लाग्ने ब्यहोराको
असभ्य खालका अर्कै भाषा मिसीएको हुन्छ

हो लोकगीतलाई शहरसम्म आउन समय लाग्छ
जंगलमा बिरुवाहरु हलक्क हुनुपर्छ
हावाले पुरै पिपलको रुख हल्लाउनुपर्छ
चराहरुले एकै स्वरमा बाजको उपस्थितीबारे चिरबिराउनुपर्छ
कम्लरी, कामी वा गोठालेका छोराछोरी हुर्किएको कुर्नुपर्छ
मालिकहरुलाई अझै यौन, भोक र विजयको तिर्खा बढ्नुपर्छ
अनि बल्ल
उनिहरुले आएर पासपोर्टको फारममा
घण्टाघरमुनी, सिंहदरबारबाहिरको भित्तामा,
जागिरको निवेदनमा
वा
बाग्मती पुलका मुन्तिर खम्बाहरुमा लेख्छन लोकगीत ।
तर एक न एकदिन त्यो शहर छिर्छ
दाम्लो, नाम्लो, कुटो, कोदालो
हसियाँ, हम्मर लिएर
लुट्छ गोला, बारुद र हुन्छ आफै आगो ।
गर्छ गोडमेल र उखेल्छ तितेपातीका झारहरु
ढाल्छ मक्किएका सल्लाहरु
त्यसपछि मान्छेले आगोसंग डराउनुको सट्टा गाउँछन एउटै लोकगीत ।

हो, सबैले गाउनुअघि लोकगीत
कसैले कोषौं पार गरेर सदरमुकाम झर्दा सुसेलेको हुनसक्छ
कसैले आज रातीको उज्यालोको लागि
दियाँलो खोज्न जंगल पस्दा गुनगुनाएको हुनसक्छ ।
याद गर
लोकगीत शुरुमा कसैले एक्लै गाउँछ ।

Sunday, September 21, 2014

ज्ञानले नभेटेको छेउटुप्पो

मनिसको ज्ञानलाई विज्ञान-दर्शन मार्फत यहाँ ल्याइपुर्याउने भौलिकशास्त्र र गणितशास्त्र मलाई अदभुत लाग्दछन । जस्तो भर्खरै यो समाचार NASA finds ‘monster’ black hole in tiny galaxy - RT पढिसकेपछि मानिसको आध्यात्मिक ज्ञानपट्टिको अर्को पाटोको कुरो प्रासंगिक लाग्यो । 

यो समाचार वा यसअघि पनि आएका यस्तै जारी वैज्ञानिक खोजको दावी के छ भने पदार्थ र पिण्डको अन्त्य वा शून्यको शुरुवात ब्रम्हाण्डमा कतै स्थित 'ब्लाकहोल'मा पुगेर हुनसक्छ । केहि हप्ताअघिमात्रै विद्धान स्टेफेन हकिन्सले त 'हिग्स पार्टिकल'ले कल्पनाकगरेभन्दा तिव्र गतिमा (निमेषमा) दुनियाँ नै अलप गराउन सक्ने तर्क गरे । तर त्यस्तो तारापुञ्ज नै गायब हुनसक्ने ब्ल्याकहोल अनि नाम दिइएको हिग्स पार्टिकल नै आफै चाहिँ कहाँबाट उत्पति भयो भनेर आजसम्मको मानिसको विज्ञान-सोध र ज्ञानले छेउटुप्पो भेटाउन सकेको छैन । 

यहिनेर आध्यात्मिक ज्ञानको प्रसंग चाहिँ के भने ऋग्वेदमा नासदिय-सुक्त भन्छ ब्रम्हाण्डमा सबैभन्दा पहिले शायद शून्य पनि थिएन, अस्तित्व पनि थिएन । कालोलाई कालैले छोपेको थियो । यो सृष्टि जब पुरै बनिसक्यो वा उसले (इश्वरले) बनायो, उसलाई थाहा छ (ब्रम्हाण्डका बारे) वा उसलाई पनि थाहा छैन (अर्थात इश्वरले बनाएकै नहुन सक्छ) । 

शायद भौतिकी र आध्यात्मिकता यतै कतै दोवाटोमा मिल्नेछन कुनै दिन ।

Thursday, May 8, 2014

एउटा प्रेम(?)पत्रको जवाफ

एक बिहान
मेरो भाइ र म
प्रेम(?)ले हात समातेर हिड्दैं थियौं गोरेटोमा
दिदीको बिहेको निम्तो बाँड्न गाउँभरी ।
बेहोशीबाट जब उठेथेँ मध्यान्हमा
थिएँ खेतको एउटा कान्लो मुन्तिर
पुरै शरिरमा घाम थियो
हो पुरै शरिरमा
र गन्हाइरहेको थियो बलजफ्तीले माडिएका तितेपाती झार,
केहि टाटाहरु सुकेका थिए जाँघको तल
रातो कट्कट्टिएको
मेरै रगत थियो त्यो र अरु केहि मिस्सिएको ।

एकदिन स्कुल जाँदै थिएँ
दाइको पछि लागेर प्रेम(?)ले
एकछिनपछि होसमा आउँदा
थिएँ लडिरहेको
हप्तौं नउठाएको फोहोरको डस्टबीन पछाडी
कुनै गल्लीमा ।
मान्छेहरुको आखाँ टक लागिरहेथ्यो
मेरो अर्धनङ्गा शरिरमा,
शरिर मेरै र म आफै थिइन कि झैं
एकदम शिथील र केबल पार्थिब
मानौ मेरो परिचय मेरो योनी शिवाय अर्को छैन ।

एकरात लोरी सुन्दै थिएँ
आफ्नै बाबुले प्रेम(?)ले गाएर सुनाएको
र ब्युझदाँ म
नजिकै आफैले गरेको बान्तामा लटपटिएर
आफु चाहिँ ढुङ्गाको लोरोले
बारम्बार घोटेको सिलौटो झैं पल्टिरहेको थिएँ
बाथरुमको एक कुनामा ।

तिमीले चिनेको हुनुपर्ने मलाई तिम्रै उत्पतिदेखि
तिमीले तर चिनेका छाै मानौं मेरो योनी
यसको आकार र आबश्यकता(?) मात्रै

प्रिय तिम्रो प्रेमको प्रस्तावमा पनि
म त्यो कान्लो मुन्तिरको तितेपाती
त्यो गल्लीको फोहोरको गन्ध पाउँछु किन होला?
र पाउँछु रातमा सुनाउने लोरीको धुन ।

तिम्रो प्रेम(?)पत्रमा
यो रातो कट्कट्टिएको के हो प्रिय?
र जो गन्हाइरहेछ यसमा केहि मिस्सिएको झैं ...

Friday, May 2, 2014

भित्तामा टाँगिएको पहाड

नमस्कार

सामान्य लवजमा ।
म जीवन जटिल छ भनेर सरल तरिकाले बाँच्नु उपयुक्त ठान्दछु न कि जीवन सरल छ भनेर जटिल तरिकाले बाँच्न ।

१) म संसारको एउटा कन्फ्युज्ड मान्छे हुँ । द्दिविधा र अस्थिरता मेरा सवभन्दा नियमीत दैनिकी हुन । त्यसैले मेरा कविताहरु सत्य होइनन । यीनले सत्यको भिषण खोज पनि गर्दैनन् । प्रश्न चाहीँ बारम्बार छन् यिनीहरुसंग । तर प्रश्नहरु खोजी नै हुन्छन भन्ने हैनन् भन्ने लाग्छ ।

२) आजको ज्ञानसम्म, कविताका बारेमा सायद मेरो एउटै अपरिवर्तित मान्यता यही नै छ कि कविता स्पेस हो, ठाउँ हो । जस्तो कि भित्ता हुनसक्छ वा पहाड । वा कन्फ्युज्ड तरिकाले भित्तामा टाँगिएको पहाड ।

क) स्पेसका बारेमा दुईटा कुरा स्पष्ट पारुँ । कविताको निर्माण मेरो स्पेस हो । कवितामा मैले चाहेको घर, बाटो, कार्यालय, हाकीम, देश, प्रधानमन्त्री, सामाज, विचार बनाउँछु । त्यो निर्माण मेरो ठाउँ हो । नछापुञ्जेल ।

ख) कविताको निर्माणपछि बाँकी तपाइँको अर्थात पाठकको स्पेस हो । मेरो घरमा तपाइँले आफु अटाउने ठाउँ भेट्ने कि नभेट्ने । मेरो बाटोमा तपाइँ हिड्ने स्पेस पाउने कि नपाउने । हाकीम, देश, समाज, विचारमा पाठकको स्पेस अनुभुत गर्ने कि नगर्ने भन्ने नै यसको निरन्तरको अस्तित्वको निर्णायक हो । छापिसकेपछि ।

३) अब मैले भन्ने बाँकी कुरा वढी परिवर्तनशील वैचारिक धरातलका हुन सक्नेछन । यसो भन्दै गर्दा म इमान्दारीको पाखण्ड गीत गाइरहेको हुनसक्ने वा आरोपित हुनसक्ने सम्भावना प्रशस्तै छ । कविताको प्रविधी र प्राविधीक पक्षमा म प्रभावहिन र मौलिक छैन हुलाँ । न त भाषाको गुह्य वा यसको अधिरचना वा मनावैज्ञानिक अर्थहरुमाथि मेरा मौलिक प्रक्षेपण हरु नै छन । म यसमा पनि कन्फ्युज्ड छु तर केहि कारण–उदाहरणहरु चाहीँ म संग छन ।

क) जस्तो कि ठूलो गफ गर्ने हो भने, मेरो देशको सत्ता, सत्ता सञ्चालन गर्ने विचारसत्ता कतै न कतैबाट प्रभावित छन ।

ख) तुच्छ कुरा गर्ने हो भने, मैले लगाउने कपडाको प्रचलन, र उक्त प्रचलन भित्रको ऐतिहासिक मनोदशा कतै न कतैबाट प्रभावित छन ।

ग) त्यसो हो भने मेरो कविता–भाषा र कविता–विचार मैले व्युत्पत्ति गराएको नहुलाँ । ‘हुँ’ भनेर भन्दा ‘होइनस्’ नभन्लान भन्न सकिन्न । कारण–उदाहरणहरु उनिहरुसंग पनि हुने नै छन ।

४) त्यसका बाबजुद यो दावी गर्दै म आज भित्तामा टाँगिएको पहाड विमोचन गराउँदैछु कि यी कविताहरु मेरा हुन भनेर ।

यहाँ मुलत, जीवनभर उत्तर दिनमात्रै सिक्दा सिक्दा, चरणवद्ध रुपमा थुप्रिदैं गएका नसोधिएका प्रश्नहरु छन । र त्यसो किनपनि भने, विशेषत ‘कविता स्विकृतीहरुभन्दा प्रश्नहरु ज्यादा हुन’ मेरा लागि । वास्तवमा मेरा स्विकृतीहरु पनि मेरा प्रश्नहरु नै होलान भन्छु ।
प्रश्नहरु भित्ताभरी कोरिएका छन । र तिनीहरु स्वरुप छाडेर पहाड बनेका छन ।

ती पहाडहरु हजारौं बर्षहरुदेखि त्यहीँ छन । तर पनि तिनका बारेमा हामीलाई कहिल्यै पूरा थाहा छैन । मलाई थाहा छैन ।
यसरी, कविता मेरा लागि त्यही पहाडहरुले लिएको स्पेस नै हो, ठाउँ नै हो ।

र अन्तमा ।
हजुरआमा, आमा, फुपु दिदी, बहिनीहरु, श्रीमती... यी महिलाको प्रेम, लाड, भरोसा, रिस, आक्रोस, गाली, सुभेच्छा, मित्रता र विश्वासले हुर्किएको पुरुष हुँ म । म यो मेरो जीवनको संयोग मान्छु कि यस्तो पनि सम्भव हुदोँरहेछ भनेर । म यो जीवन्त परिवारको सदस्य हुदाँ विशेष अनुभव गर्दछु । धन्यवाद मेरो परिवार सदस्यलाई ।

व्यावसायिक जीवनदेखि व्यक्तिगत जीवनमा निरन्तर उतारचढावका साथ प्रेमिल मार्गदर्शन गर्नुहुने प्रकाश सायमी दाइ । मेरो साहित्यिक आदर्शको एउटा उचाइ सरुभक्त दाइ । मेरो पोखरा बसाइको यो उत्तराद्र्ध समयतिर प्रियस्कर हुनुभएका मलाई मनपर्ने कवि इश्वरमणी अधिकारी । यहाँहरुले मेरो आजको दिन स्मरणीय तुल्याउनुभएको छ । भुल्ने छैन ।

अनि जादाँजादैं केहि नाममात्र लिएर बाँकी मित्रहरुलाई अप्रिय बनाउने मेरो अभिप्शा कत्तिपनि हैन तर किताब प्रकाशन र आजको कार्यक्रमका लागि विचार अचार दिने, असिना पसिना खेप्ने साथी, जीवनसाथी पूर्णिमा गुरुङ, दाइ बुद्ध गुभाजु, मित्र मीरा ढकाल, उपेन्द्र पौडेल, सन्देश न्यौपाने, सुर्य सुर्खाली, प्रविन वुढाथोकी, जीबन बराल, रुपिन्द्र प्रभावि 'कटु', केशब लामिछाने, महेश श्रेष्ठ लाई यहाँबाट निक्लेर खाना खुवाँउला भन्न चाहन्छु । बाँकी मलाई सहयोग गर्ने मित्रहरुले मलाई चिनेरै सहयोग गरेका होलान भनेर विश्वास गर्छु । मसंग चिनजान गर्न मैत्री गरेकाहरुसंग त परिचय जारी रहनेछ ।

कविताहरु किताब भएर म बाट बाहिरिएको छ । बाहिरिने ढोका मित्र गनेस पौडेलले बनाइदिएकोमा ऋृणी नै भएको छु । बाहिरबाट यहाँहरुले दिने प्रतिक्रियाको व्यग्र प्रतिक्षा गरेको छु ।

फोन, एसएमएस र फेसबुके निम्तोले नै यहाँ आउनुभयो । अग्रज, साथीभाइ, सुभेच्छुक, कविताप्रेमी सप्पैलाई हृदयदेखि नै आभार ।
शुभदिन ।
(मेरो पुस्तक 'भित्तामा टाँगिएको पहाड' विमोचनमा बोलिएको ।)

Saturday, April 26, 2014

४२०

भारतको दण्ड संहिताको धारा ४२० मा ठगीको प्रसंग छ । यो ब्रिटीशहरुले सन् १८६० मै बनाएका र अझै यो निरन्तर छ । यसको सिको गर्दै पाकिस्तान र बंगलादेशमा पनि यो राखिएको छ । 

ठग र अति चतुर मानिसलाई नेपालमा पनि ४२० भन्ने चलन छ । मेरा हजुरबाले कहिलेकाँही हामी बाठो भएर कुरा गर्दा '१२/७० कुरा नगर' भनेर चेतावनी दिने गरेको मलाइ याद छ । १२ र ७० गुना गर्दा ८४० हुदोँरहेछ र यसको मतलब ४२० को दुइगुना । यो दुइगुना बाठोको कुरा मैले पछि मात्रै थाहा पाएको हुँ । 

मलाई लाग्छ यो त्यही भारतीय ४२० को प्रभाव हुनुपर्छ । 

आज अर्को एउटा कुरा पनि थाहा लाग्यो र कतै न कतै त्यो प्रासंगिक पो छ कि भन्ने लाग्यो । कुरो के भने अमेरिकीहरु अप्रील २० मा गाँजा महोत्सव मनाउँदा रहेछन । अमेरिकामा गाँजा गैरकानुनी छ तर केहि राज्यहरुले यसलाई कानुनी छुट दिएर यो वर्ष रोचक इतिहास कायम गरेका छन । अप्रील अंग्रेजीको चौथो महिना र २० तारिखलाई एकै ठाउँमा मिसाउने हो भने ४२० हुने रहेछ र यो महोत्सवलाई ४२० को नाम दिइएको रहेछ । अमेरिकी पप कल्चरमा ४२० चुरोट/गाँजाको भाडाँ (अंग्रेजीमा पट) को प्रतिक रहेछ । यस्ता प्रयोग गर्नेहरु ठग, चतुर वा चलाख हुन्छन भन्ने नै त होला आखिर । 

भाषा र संस्कार कसरी विश्वव्यापी हुन्छन भन्ने कुरा बुझ्नु पनि बुझिसाध्यकै बिषय न हो ।